राैतहट भ्वाईस, ११ भाद्र । मानव र संस्कृति परस्पर सम्बन्धित छ । मानिसले आफूलाई यो संसारमा टिकाइ राख्न विभिन्न किसिमका रीतिथिति र संस्कृतिको विकास गरेका छन् । मानव सभ्यताको सुरुवात देखि हाल सम्मको अवस्थालाई केलाउने हो भने मानिसले भाषा संस्कृतिको विकासमा निकै ठुलो फड्को मारेको छ हाे । समाजशास्त्रीय आधारमा हाम्रा चाडपर्वलाई अध्ययन विश्लेषण गर्ने हो भने विभिन्न वैज्ञानिक तथ्यहरू फेला पर्दछन् ।

चाडपर्वहरूले समाजमा मेलमिलापको भावना अझ बढाउने गर्दछ भने समाजमा हुन सक्ने आत्महत्या, झैझगडा, सामाजिक हिंसा र द्वन्द्वलाई कम गर्न पनि महत्त्वपूर्ण भूमिका निर्वाह गदै आएको छ । विशेष गरी महिला दिदीबहिनीलाई यस्ता चाडपर्वले मानसिक तनावबाट केही मुक्ति दिने गरेको देखिन्छ । चाडपर्वमा आफ्नो जन्मघर जान पाइने हुनाले आफ्ना सारा दुःख पीडालाई भुल्छन् महिलाहरू । आफ्ना प्रियजन सँगको भेटले उनीहरूमा नयाँ उत्साह छाउने गर्दछ ।

आफ्ना मनमा गुम्सेर रहेका भावना व्यक्त गर्न पाउने हुँदा विभिन्न सामाजिक दुर्घटनाबाट पनि बच्न सकिने कुरा समाजशास्त्रीहरु बताउँछन् । ससाना खुसीले पनि मानव जीवनमा ठुलो महत्त्व बोकेको हुन्छ । मानव जीवन जिउन पक्कै पनि सहज छैन, यो सबैले बुझेको कुरा हो । हाम्रा चाडपर्वले सामाजिक र धार्मिक तथा पर्यावरणीय महत्त्व बोक्नुको साथै जीवन जिउने कला र शैली पनि सिकाएको छ ।

हाम्रो धर्मशास्त्रले आफू भन्दा सानालाई माया र आफू भन्दा ठुलालाई आदर गर्ने कुरा सिकाएको हाे । ठुलालाई आदर गर्नुको अर्थ उहाँहरुमा रहेको ज्ञान, सीप सिक्ने बाटो बनाउनु वा सहज पार्नु हो । माथिको गनथनलाई अब कुशे औँसीसँग जोड्छु । यस दिनलाई पितृसम्मान दिवसको रुपमा पनि मनाइन्छ । हिन्दू धर्ममा बुबा, आमा र गुरुलाई भगवान् सरी पुजिन्छ । बुबालाई गुरु, रक्षक र पथप्रदर्शक मानिन्छ ।

संस्कृतको “पा’ रक्षणे धातुबाट बनेको पिता शब्दको अर्थ नै संरक्षक हो । पिताबाट नै अबोध शिशुहरूलाई पालनपोषण र मार्गदर्शन गर्ने कार्य भएको हुन्छ । आफ्ना जीवनदाता, शिक्षादाता र पालनकर्ता पिताको सम्मान र आज्ञापालन गर्नु सन्तानको सर्वोपरि कर्तव्य हो । तोतेबोली बोल्दै बामे सर्दाको अवस्थामा बुबाको हातको सहाराले हिँडुन सिकेका हुन्छौ । हामीलाई आफै हिँड्न सिकाउने हाम्रा प्रिय अभिभावक नै हाम्रा पहिला गुरु हुन् ।

पिताको सम्मान र सेवा गर्नाले जति कल्याण त कुनै पनि दान यज्ञबाट सम्भव छैन । बुबाको मुख हर्ने दिनलाई कुशे औँसी वा पितृतर्पनी औँसी वा गोकर्ण औँसी पनि भनिन्छ । यस दिन आफ्ना बुबालाई मीठो मीठो खान उपहार तथा सम्मान गरेर मनाइन्छ । धर्म गर्नलाई मन्दिर धाउने होइन, आफ्ना मातापिताको सेवा र सम्मान गर्नु पर्दछ । त्यसैले श्री स्वस्थानीमा गणेश भगवान्ले महादेव र पार्वतीलाई परिक्रमा गरेर जुनसुकै पूजाआजा गर्दा पनि पहिला गणेशको पूजा गर्नुपर्ने वरदान प्रात्त गरेका थिए ।

लोक व्यवहारमा पनि जब जब जीवनमा कुनै संकट छाउँछ, तब तब हामी आफ्ना जन्मदातालाई सम्झने गर्दछौ । वैशाख कृष्ण अमावस्याको दिन आमालाई र भाद्र कृष्ण अमावस्याको दिन बुबालाई समर्पित गर्दछौं । भाद्र कृष्ण औँसी विभिन्न कारणले महत्त्वपूर्ण मानिन्छ । यसै दिनमा कुश काटिन्छ र यस दिन काटेको कुश वर्ष भरि प्रयोग गरिन्छ । अतः यस दिनलाई कुशे औँसी भनिन्छ ।

यसै दिन आफ्ना मृत पिताको सम्मान र शान्तिका लागि काठमाडौँस्थित गोकर्णेश्वर महादेव मन्दिरमा गई महादेवको पूजा गरेर मृत पितृलाई पिण्डदान गरिने हुँदा यो दिनलाई गोकर्णे औँसी भनी मानिन्छ । यसै दिन आफ्ना जीवित पितालाई सन्तानले विभिन्न मिष्ठान्न भोजन र वस्त्र उपहार दिई सम्मान गरी आशिष पाउने हुँदा यो दिनलाई पितृदिवस पनि भनिन्छ । यसै दिन जुन पितृ पूर्वजहरूको मृत्यु तिथि मिति थाहा हुँदैन, त्यस्ता पितृहरूको श्राद्ध पनि गोकर्णमा गई गरिन्छ ।

गोकर्ण भगवान् शिवको नाम हो । यस दिन यहाँ शिवको पूजा आजा गरी पितृहरुप्रति श्रद्धा प्रकट गरिन्छ जसबाट एकातिर शिव आराधनाबाट आत्मकल्याण हुन्छ । मनमा शान्ति छाउँछ र सकारात्मक सोचको विकास हुन्छ भने अर्काेतर्फ आफ्ना पूवर्ज पितृहरूलाई तर्पणबाट तृप्त गरिन्छ । यस दिन गोकर्णमा ठुलो मेला लाग्दछ । जसरी भारतमा गया पिण्डदानका लागि प्रसिद्ध छ । त्यस्तै नेपालको गोकर्णेश्वर पनि त्यतिकै पवित्र र प्रसिद्ध छ ।

कुशे औँसीसँग कुशको विशेष सम्बन्ध रहेको छ । विभिन्न धार्मिक कार्यहरू कुशको औँठी बनाएर दाहिने हातमा लगाउने गरिन्छ । हिन्दुहरूले आफ्नो घरमा कुश राख्ने चलन शताब्दी अगाडिको हो । कुशको वैज्ञानिक महत्त्व पनि उतिकै रहेको छ । कुशे औँसीले पर्यावरण संरक्षणको महत्त्व दर्साउँदछ । अग्निस्थापनाको वेदीको वरिपरि पन कुश विछ्याइन्छ । कर्मपात्र बनाउने काम होस् वा शुद्धता र पवित्रताका लागि जल छर्कने कार्यक्रम होस्, जहाँ पनि कुशको प्रयोग गरिन्छ ।

यसरी मानिसले आफूसँगै विभिन्न प्राणी तथा वनस्पतिको अस्तित्वलाई पनि कायम गदै आएको छ । समाजशास्त्रीय हिसाबले पनि समाजमा व्याप्त कुराहरुले हाम्रा आवश्यकता परिपूर्ति गर्न महत्त्वपूर्ण भूमिका निभाइ रहेका छन् । हुन त समाज परिवर्तनशील छ, समयसँगै हाम्रो जीवनशैली र चालचलन फेरिदै आएको छ तैपनि कतिपय धार्मिक महत्त्व बोकेका कुराहरु हराउनु साटो झन चर्चाको शिखरमा पुग्न सफल भएका छन् ।

ती कुराहरूमा विभिन्न अध्ययन अनुसन्धान पनि हुँदै आएका छन् । धार्मिक कुराहरुलाई आत्मसाथ गदै वास्तविकता र वर्तमानलाई पनि आत्मसाथ गर्नु जरुरी छ । मरेपछि मात्र पिण्ड दान गरेर आफ्ना बाबा आमाप्रति श्रद्धा व्यतm गर्ने सन्तानहरुको कमी छैन यहाँ । यस्तो गलत प्रवृत्तिको अन्त्य गर्नु आजको आवश्यकता हो । छोरा छोरी उच्च तहमा पुगेर सम्पन्न रुपमा जीवन विताइरहँदा बूढा बा आमा बृद्धाआश्रमको शरणमा बस्न बाध्य रहेका छन् ।

कतिपय छोराछोरीले त आफ्ना बा आमालाई आफैले नै बृद्धाश्रममा छोडने गरेका छन् । त्यति गर्दा पनि ती बा आमा जहिले पनि आफ्ना सन्तानको भलोको लागि भगवान्सँग प्रार्थना गरिरहेका हुन्छन् । अहिले बढिरहेको विकृतिको अन्त्य गर्दै सुन्दर र सभ्य समाजको निर्माण गर्नु पर्दछ । जसरी दिन पछि रात आउँछ, त्यसरी नै मानव जीवन पनि हालको बच्चा पछिको अभिभावक हो । आफूले जस्तो कर्म गर्‍यो, त्यही अनुसारको फल मिल्दछ भन्ने हेक्का राख्नु पर्दछ ।

अन्तमा, समाजशास्त्रीय हिसाबले हाम्रा चाडपर्वलाई अध्ययन गर्ने हो भने यसले मानव जीवनको अस्तित्व बोकेको हुन्छ । आजको दिनमा पनि टाढा टाढा रहेका छोरी चेलीहरु आफ्नो माइती घर पुगी आफ्ना गच्छेअनुसार मिठाई फलफूल लगी बुबाको मुख हेर्ने गर्दछन् । हरेक चाडपर्वले हामी सबैमा उत्साह, हर्षको सञ्चार गर्दछ ।