सुभाष कुमार राम
रौतहट भ्वाईस, ३० जेष्ठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले गाँजा बेचेर राष्ट्रको वैदेशिक ऋण दुई वर्ष भित्रै तिर्न सकिने बताउनुभयाे । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद तामाङले नेपालको स्वास्थ्य क्षेत्र र ऋण तिर्नका लागि गाँजाको खेती र बिक्री वितरण खुल्ला गर्नुपर्ने माग गरेकाे हाे ।‘गाँजाबाट २ सय लिटरका ४ ड्रम सीभीडी यदि निकाल्ने हो । यो मुलुकको सम्पूर्ण पूर्वाधार त्यसैलाई बेचेर निर्माण गर्न सकिन्छ ।

त्यतिमात्रै होइन आज हामीलाई लागेको ऋण कमसे कम एक दुई वर्षमा नै तिर्न सक्ने अवस्थामा पुग्छौं ।’ गाँजा बारे आफूले उठाएको विषयलाई गम्भीर रूपमा लिन उनले आग्रह गरेकाे हाे । एचआईभी एड्स रोगका बिरामीहरूको दीर्घ जीवनको औषधि गाँजा भएको दाबी गरेकाे हाे । ‘नेपालमा क्यान्सरजस्तो प्राणघातक रोगले धेरै मान्छे मरिरहेका छन् र सम्पति सकिरहेका छन् । यसैगरी प्राणघातक रोग एचआईभी एड्सको कारण पनि मानिसको जिउन पाउने अधिकार नष्ट भइरहेको हाे ।’‘एड्स रोगका बिरामीहरूको दीर्घ जीवनको औषधि नै गाँजा हो ।

यस रोगका बिरामीहरूलाई तत्काल यसको व्यवस्था गरिएन भने हजारौं बिरामीहरू मर्ने खतरामा छन् ।’‘यो गाँजाबाट बन्ने सीभीडी, सीभीडीबाट बन्ने औषधि र यसबाट वास्तवमा हामी प्राणघातक रोगहरूको उपचार गर्न सक्छौं । यो विश्वले अहिले प्रमाणित गरेर अगाडि आइसकेको विषय हो ।’ तत्कालका लागि गाँजालाई औषधिका रूपमा प्रयोग गर्न दिनुपर्ने हाे । औद्योगिक प्रयोजनका लागि पनि बहस हुनुपर्ने बताउनुभयाे ।