पुस ०३  रौतहट।।विवाह पञ्चमी महामहोत्सव अन्तर्गत सप्ताव्यापी रामजानकी विवाहपञ्चमीको पाचौं दिन जनकपुरमा मटकोर सम्पन्न भएको छ । शुक्रबार साँझ जनकपुरको गंगासागरमा विवाह पञ्चमी महामहोत्सव  पाँचौं दिन रामजानकीको मटकोर मनाइएको हो ।

विवाहको पूर्व सन्ध्या वैदिक परम्परा अनुसार माटोको पूजा गरी मटकोर विधि गरिएको हो । जानकी मन्दिरबाट झाँकीसहित आएका साधुसन्त र श्रद्धालुले गंगा सागरको किनारमा मटकोर विधि गरिएको हो । मटकोरको प्रसादमा भिजाएको चना, चामल र खाने तेल वितरण गरिएको थियो । शुद्धिकरणका लागि मटकोर गर्ने परम्परा छ ।

मैथिली परम्परा अनुसार हुने विवाहको सबै विधि राम सिता विवाह अर्थात विवाह पञ्चमीमा हुने गरेको छ । विवाह महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन कार्यक्रम, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञको कार्यक्रम र चौथो दिन तिलकोत्सव कार्याक्रम मनाइएको छ ।

शुक्रबार पाँचौं दिन मटकोर, छठौं दिन शनिबार स्वयम्बर तथा शुभविवाह (विवाहपाञ्चमी) र सातौं दिन आइतबार राम कलेवाको आयोजना गरी विधिवत रुपमा विवाह पञ्चमी मनाइन्छ ।