चैत ३० काठमाडौं ।।राष्ट्रिय मानव अधिकार आयोगले हरेक वर्ष प्रदान गर्दै आएको “स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान” यस वर्ष फरेन्सिक विज्ञ डा. हरिहर वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले डा. हरिहर वस्तीले आयोगको शवोत्खनन् लगायत मानव अधिकारका दर्जनौँ अनुसन्धान कार्यमा महत्त्वपूर्ण योगदान पुर्याएको कोमा सम्मान गर्ने निर्णय गरेको हो ।

सम्मानित हुने डा. वस्तीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा लामो समय फरेन्सिक विज्ञको रुपमा रही मानव अधिकारको संरक्षणमा योगदान पुयाउँदै आएका थिए । सशस्त्र द्वन्द्वकालीन घटनाहरूको अनुसन्धानमा संलग्न रही मानव अधिकारको क्षेत्रमा उनले पुर्याएको योगदानलाई मूल्याङ्कन गर्दै आगामी दिनमा समेत मानव अधिकारको क्षेत्रमा थप योगदान पुर्याउने विश्वास आयोगले लिएको छ ।

आयोगले गत वर्षको मानव अधिकार सम्मान महिला मानव अधिकार रक्षक सञ्जाल नेपालका संस्थापक तथा लैङ्गिक समानता, लैङ्गिक न्याय र महिला हिंसाको न्यूनीकरणको अभियानमा क्रियाशील अधिकारकर्मी डा. रेणु अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको थियो ।