फागुन  २ जनकपुरधाम ।। जनकपुरमा प्रदेश स्तरीय महिला हस्तकला मेला तथा प्रदर्शनी सुरु भएको छ । जनकपुरको गोपाल धर्मशालामा महिलाहरुको सीप तथा कलालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ आजदेखि महिला हस्तकला मेला तथा प्रदर्शनी सुरु भएको हो । तीन दिने मेलाको आइतबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले उद्घाटन गरेकी छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम तथा नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनीमा प्रदेश २ को ८ वटै जिल्लाका महिला उद्यमीहरुको सहभागिता रहेको छ । कुनै देश वा समाजलाई समृद्ध बनाउनका लागि महिलाहरु समृद्ध तथा खुशी हुनु आवश्यक रहेको मन्त्री महतोले बताएकी छन् ।

महिलाहरुको सीप तथा कला प्रदर्शनीका लागि स्थानीय तहहरुलाई समेत महिलासंग सम्बन्धित अलग्गै योजना ल्याउन मन्त्री महतोले आग्रह गरेकी हुन् । यस प्रदर्शनीले महिला उद्यमीहरुलाई सक्षम बनाउन सहयोग पुर्याउने उनले विश्वास व्यक्त गरिन् । प्रदर्शनीमा महिलाहरुलाई आफ्नो सीपको प्रदर्शन गर्न मन्त्री महतोले आग्रह समेत गरिन् ।

त्यस्तै, महिला उद्यमीहरुले गरेका उत्पादनको बजारीकरण, घरेलु हस्तकला उद्योगप्रतिको आकर्षण बढाउने उद्देश्यले यो प्रदर्शनीको आयोजना गरिएको नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र शाक्यले जानकारी दिए । प्रदर्शनीमा मिथिला चित्रकला, बाँसका कलात्मक भाँडा वर्तन, माटाका भाँडा, सुतीका कपडाहरु राखिएको छ । मेलामा झण्डै २५ हजार आगन्तुक आउने अनुमान गरिएको आयोजकले जनाएको छ । मेलामा कुल ५० वटा स्टल राखिएको छ भने प्रदर्शनी अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।