मंसिर १५ रौतहट।।रौतहटको माधवनारायण नगरपालिकामा एक व्यक्तिको शव फेला परेको हो । माधवनारायण नगरपालिकामा ४५ वर्षीय दशैराम मृत अवस्थामा फेला परेका छन् । बिहे ब्रतबन्धको अवसरमा हुने लबण्डा नाच कार्यक्रममा काम गर्ने माधवनारायण ५ मिठुअवाका ४५ वर्षीय रामको शव फेला परेको प्रहरीले पुष्टि गरेको छ ।

उनको शव माधवनारायण नगरपालिका वडा नं. ४ बिसुनपुर्वा मानपुर र वडा नम्वर ५ मिठुअवा गाउँको बीच क्षेत्र बाँसघारीमा फेला परेको हो । आज बिहहान रामको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शवको प्रकृति हेर्दा मुखबाट रगत बगेको र कुटपिट वा अन्य कारणले मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको रौतहट प्रहरी प्रमुख एसपी सिद्धीविक्रम शाहले जानकारी दिए । एसपी शाहले मृतकको शव पोष्टमार्टमको लागि गौर अस्पतालमा लगिएको बताए । घटनबारे थप अनुसन्धान जारी रहेको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्र केही भन्न सकिने उनले बताए ।

त्यस्तै सोही नगरपालिकामा एक बालकको डुबेर मृत्यु भएको छ । माधवनारायण नगरपालिका वडा नं. १ दिपहीका संजय महतोको १४ महिनाका छोरा निखिल महतो खेल्ने क्रममा आफ्नै घर अगाडीको नालामा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ । बिहान ११ बजे नालाको पानीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको र घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।