राैतहट भ्वाईस, १२ असाेज । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरेको हाे । मंगलबार मध्य राति देखि निर्वाचन आचार संहिता लागु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयाे । निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने बताउनुभयाे ।

गत आइतबार आयोग​ले विभिन्न दलका मुख्य नेताहरूलाई बोलाएर निर्वाचन आचारसंहिता कार्यान्वयनमा लैजानेबारेमा छलफल गरेको थियो । साथै आयोगले दलका प्रतिनिधिहरूलाई आफ्नो दल निर्वाचन आचार संहिता पालना गर्न प्रतिबद्ध छ भनेर हस्ताक्षर समेत गराएको थियो ।

कुन क्षेत्रका कस–कसलाई लाग्छ आचारसंहिता राजनीतिक दलदेखि विभिन्न सरकारी तथा गैरसरकारी निकाय देखि मतदाता सम्मका लागि आचार संहिता लागु हुन्छ । निर्वाचन आयोगले तयार गरेको आचारसंहिता निम्न व्यक्ति, संस्था, निकाय तथा अधिकारीलाई लागु हुने व्यवस्था छ :

– नेपाल सरकार र नेपाल सरकारका मन्त्री,
– प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,
– संवैधानिक निकाय र सो निकायका पदाधिकारी,
– नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी,
– स्थानीय कार्यपालिका र सोका सदस्य,
– संघ, प्रदेश र स्थानीय तहका कर्मचारी,
– सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी,
– सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी,
– राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,
– उम्मेदवार तथा सम्बन्धित व्यक्ति,
– राजनीतिक दल तथा उम्मेदवारको मतदान,
– प्रतिनिधि तथा मतगणना प्रतिनिधि,
– सार्वजनिक पद धारण गरेको व्यक्ति,
– अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता,
– पर्यवेक्षण संस्था तथा पर्यवेक्षक,
– सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी
– निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी,
– विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी,
– विकास साझेदार संस्था,
– सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी,
– मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी,
– निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार,
– वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार, र आयोगले तोकेका अन्य निकाय वा व्यक्ति ।