सुभाष कुमार राम
रौतहट भ्वाईस, ३० जेष्ठ । बज्जिका भाषामा साहित्य सिर्जना गर्दै आएका बाल साहित्यकार अभिजित रामलाई एउटा राष्ट्रियस्तरको साहित्यिक संस्थाले प्रदेश बालप्रतिभा पुरस्कारबाट सम्मानित गरेको हाे। हेटौँडामा केन्द्रीय कार्यालय रहेको नवसर्जक साहित्य चौतारी नेपालको प्रथम राष्ट्रिय बालसाहित्य उत्सवको अवसरमा मधेस प्रदेशबाट अभिजित रामलाई सात हजार ७७७ रुपैयाँ नगद, प्रमाणपत्र सहित सम्मानित गरिएको हो।

हेटौँडामा नै आयोजित कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा.देवी नेपालले सात प्रदेशका एक एक सर्जक सहित मधेस प्रदेशका रामलाई सम्मानित गरेका हुन्। कार्यक्रममा राष्ट्रिय पुरस्कारबाट वरिष्ठ साहित्यकार प्रमोद प्रधानलाई सम्मानित गरिएको हाे ।बाराको सिम्रौनगढका राम मधेसी दलित हुन्। बज्जिका भाषामा सानै देखि कलम चलाइ रहेका राम यसअघि रौतहटको गढीमाई नगरपालिकाले आयोजना गरेको राष्ट्रिय स्तरको कविता प्रतियोगितामा पनि पुरस्कृत भएका थिए। अभिनयमा पनि रुचि भएका बालसाहित्यकार रामले छिट्टै आफ्नो एउटा किताब प्रकाशन हुन लागेको हाे ।