सुभाष कुमार राम
रौतहट भ्वाईस, २८ जेष्ठ । यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको हाे । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं. एक, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशमा मनसुन प्रणाली प्रवेश गरेको हो । देशका बाँकी भू–भागमा केही दिन पछि मनसुन प्रणाली प्रवेश हुने अनुमान गरिएको हाे ।

यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडिनै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ । जुनदेखि सेप्टेम्बर सम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ ।

दिउँसो प्रदेश १, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ । प्रदेश १, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षा तथा अन्य प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन÷चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको हाे ।