सुभाष कुमार राम,
राैतहट भ्वाईस, १८ जेष्ठ । रौतहटमा जन्मे हुर्केकी रेनु कुमारी दासले स्कुले किताबमा मात्रै हिमालपारिको जिल्ला मनाङबारे सुनेकी थिइन् । एक वर्षअघि स्टाफ नर्सको पढाइ सकेर जागिर खाने धुनमा लोकसेवा भिड्नासाथै उनको नाम निस्कियो । त्यसमाथि नियुक्ति पाइन्—थानचोक स्वास्थ्य चौकी, मनाङमा ।

‘अनि मात्रै युट्युबमा मनाङ, चामे, थानचोक खोज्न थालें, यताको भूगोल र हावापानी देखेर खुबै रोएकी थिएँ, म मधेसमा जन्मे–हुर्केकी केटी, यो ठाउँमा कसरी टिकौंला भन्ने भएको थियो ।’ चामेमा सुरु भएको तिलगंगा अस्पतालको आँखा शिविरका लागि बिरामीको ‘स्क्रिनिङ’ गरिरहेकी २५ वर्षीया रेनुले सुनाइन् । ‘यो चिसोमा बस्न थालेको एक महिना मात्रै भएको हाे । फेरिएको भूगोलमा घुलमिल हुन सिकिरहेकी छु ।’

मधेसको गर्मीबाट मनाङको हिउँमा आइपुग्नासाथ आतेश भएको रेनुले बताइन् ।जेठको दोस्रो सातामै चामे, थानचोकको शून्य डिग्री तापक्रम अनुभव गरेकी उनका लागि हिमाली बसाइको सबैभन्दा राम्रो पक्ष भनेकै यहाँका मान्छे हुन् । ‘मनाङ जिल्लामा काम गर्नुपर्ने भनेर छानिँदा सुरुमा म रोएकी थिएँ तर यहाँका मानिस निकै सजिला रहेछन्, बानी पर्न समस्या भएन ।’थानचोकमा रहेका ३६ घरका बासिन्दालाई यो स्वास्थ्य चौकीले सेवा दिने रहेछ ।

आफ्नो पढाइ तीनवर्षे स्टाफ नर्सको भए पनि सरकारी सेवा सुरु गर्न रेनु एक तहमुनिको अनमी पद स्विकार्दै थानचोक आएकी हुन् । मधेसी समाजमा छोरी–बुहारीलाई पढाइदेखि घरबाहिर टाढा गएर काम गर्न वा एक्लै हिँड्न निकै कडाइ रहने गरेको आफूले देख्दै आएको भए पनि आफ्नो परिवारमा यस्तो स्थिति नरहेको हाे । ‘मेरो २० वर्षकै उमेरमा बिहा भएको हो ।

तर बिहा गरेर गए पनि श्रीमान् राजेश कुमारको सहयोग र हौसलामा मैले स्टाफ नर्ससम्म पढ्न पाएँ, उहाँकै प्रेरणाले लोकसेवामा आएकी हुँ ।’ मनाङ पोष्टिङ परेपछि गत वैशाख पहिलो साता श्रीमतीलाई थानचोक स्वास्थ्य चौकीसम्म छाड्न श्रीमान् राजेश आफैं आएका रहेछन् । राजेश पनि अहिले सुब्बा पदमा लोकसेवा दिने तयारीमा काठमाडौं बसेर पढिरहेका छन् ।

सर्लाही घर भएकी निधि जैसवाल पनि भर्खरै २० वर्ष लागिन्, जो पहिलो पटक मधेसको आफ्नो थातथलो छाडेर पहाडी जिल्ला लमजुङको दोर्दी गाउँपालिकाभित्रको अर्चलबोट स्वास्थ्यचौकीमा अनमी बनेर आएकी छिन् । गौर नर्सिङ इन्स्टिच्युटबाट स्टाफ नर्सको पढाइ पूरा गरेकी छन् । ‘पहाड विकट हुन्छ भन्ने थाहा थियो तर यति विकट भन्ने थाहा थिएन ।’‘सरकारी जागिरमा रहेका आफ्ना काका र मामाले भनेकै कारण मैले लोकसेवा भिडेकी हुँ ।

नाम निस्किएपछि नियुक्ति यो पहाडी गाउँमा भएको हाे । यतैको हावापानीमा भिज्ने प्रयास गरिरहेकी छु ।’ लमजुङ सदरमुकाम बेंसीसहरबाट ३ घण्टा गाडीमा पुगिने अर्चलबोटको प्रकृति, मान्छे, मौसम र गुरुङ संस्कृति आफूलाई मन पर्न थालेको निधिले सुनाइन् । लमजुङको अर्चलबोटस्थित स्वास्थ्य चौकीमा कार्यरत सर्लाहीकी निधि जैसवाल । रेनु र निधि दुवैले पढाइभन्दा एक तहमुनिको पदमा सरकारी जागिर पाए पनि अहिले काममा बानी बसाल्न र घर छाडेर टाढा गएर काम गर्न अभ्यासका लागि हिमाल–पहाड आइपुगेका हुन् ।

रेनु र निधि दुवैले आगामी महिना हुन लागेको स्टाफ नर्स पदको लोकसेवा परीक्षा दिने तयारी गरिरहेका छन् । थानचोक स्वास्थ्य चौकीका प्रमुख अहेब सूर्यमोहन पौडेलले स्टाफ नर्स पढाइ पूरा गरेर अनमी तहमा काम गर्न आएकी रेनुको काम र मिहिनेती स्वभावको खुलेर प्रशंसा गरेकाे हाे ।

‘सामान्यतः नयाँ स्वास्थ्य कर्मचारी आउँदा काम सिकाउनुपर्ने वा अभ्यास गराउनुपर्ने अवस्था रहन्थ्यो तर रेनु स्टाफ नर्सको पढाइ सकेर काममा आएकाले कुनै अभ्यस्त स्वास्थ्यसेवीझैं काम गरिरहेकी छन् ।’‘मधेसको प्रतिनिधि भए पनि स्थानीय बासिन्दासँगको घुलमिल र बोलीचालीले स्वास्थ्य चौकीमा काम गर्न सजिलो भएको छ ।’ साभारःकान्तिपुर