रौतहट भ्वाइस, १८ वैशाख । सन् २०१२ मा अनुसन्धानका क्रममा मलगायत अन्य दुई गैर दलित अनुसन्धानकर्ता सुनसरीको इनरुवा नगरपालिकाको ‘झा’ समुदायमा पुग्यौँ। समुदायमा अन्तरर्वार्ता लिँदै गर्दा साँझ परेको पत्तो नै भएन; बास खोज्नुपर्ने भयो। त्यस नगरपालिकाका मेरा सहकर्मीलाई म दलित भएकै कारण त्यो समुदायमा बास नपाउने लागेछ। उनले यसै समुदायका एक प्राध्यापक (झा सर) को घरमा लगे। कारण उनी शिक्षित छन्; जातभात मान्दैनन् र बास दिन्छन् भन्ने थियो। साँझ झा सरको घरमा पुग्यौँ; बास माग्यौँ र बास पायौँ पनि।

केही छिनमा परिचय सुरु भयो। मैले मेरो नाम मात्र भनें; जात भनिनँ। झा सरले कहाँ छोड्नु ? ‘प्रकाशजी कुन थरी पर्नु भो ?’ फ्याट्ट सोधिहाले। ‘म वि.क. सर’ अप्ठ्यारो मान्दै उत्तर दिएँ। यति भनेलगत्तै झा सर घरभित्र पसे। केही समयपछि घरबाट निस्कँदै भने, ‘प्रकाशजी, घरमा सुत्ने ठाउँ नपुग्ने भयो। तपाईं र म धन्सारमा सुत्दा कसो होला ? म प्रायः गर्मीमा त्यहीँ सुत्छु। हामीलाई कुनै अप्ठ्यारो पर्दैन। आउनुहोस्, हामी सुत्ने ठाउँ देखाउँछु’ भन्दै अघिअघि हिँडे। सुत्ने ठाउँ पुग्दा त्यो धन्सार नभएर गाईवस्तुलाई बाँध्ने गोठ रहेछ।

गोठमा दुई बडेमानका भैंसी थिए। यिनै भैँसीलाई सीमाना मानेर वारिपारि दुई खटिया राखिएका थिए। खटियामाथि सामान्य ओछ्यान लगाइएको थियो। केही बेरमा गोठैमा खाना आयो; खाइयो र त्यहीँ सुतियो। अनुसन्धानका क्रममा छुवाछुत भोग्नु परेको यो मेरो पहिलो अनुभव थियो। त्रि.वि.को समाजशास्त्र विभागमा अध्यापन गराउने ब्राह्मण समुदायका प्रध्यापकबाट काठमाडौंमा मैले छुवाछुत भोगेँ।

कोठा खोज्दा जातकै कारणले कोठा नपाएर नैराश्य बढ्दै थियो। सहकर्मी साथीबाट यिनै प्राध्यापकको घरमा कोठा खाली रहेको र मलाई भाडामा दिने कुरा जानकारी पाएपछि आशा जगायो। यद्यपि जात नखुलाई कोठा भाडामा नबस्ने मेरो अडान थियो। सहकर्मी साथीलाई मेरो जातबारे उहाँलाई जानकारी गराउन आग्रह गरेँ। साथीले मेरो जातबारे जानकारी गराएपछि प्राध्यापकले आफूलाई मेरो जातबारे कुनै समस्या नरहेको तर घरमा भएकी बुढी आमालाई अप्ठ्यारो पर्ने भएकाले कोठा दिन नमिल्ने कुरो बताएछन्।

हिजोको आशा भोलिपल्ट निराशामा परिणत भयो। समाजको शास्त्र आफ्नै घरका सदस्यलाई बुझाउन नसकेका यी प्राध्यापकले हजारौं विद्यार्थीलाई के पढाउँछन् ? के बुझाउँछन्  ? मनमा अनेकौँ प्रश्न उठ्न थाले। उल्लिखित मेरा व्यक्तिगत अनुभवका आधारमा भन्नुपर्दा समकालीन जातीय विभेद तथा छुवाछुत शिक्षित गैरदलितबाटै भएको पाइन्छ। यस्ता व्यक्तिले समाजलाई जातीय आधारमा विभाजन गर्ने गरेका, रूढिवादी परिवारका सदस्य वा समाजलाई जातकै आधारमा शोषण गर्ने गरेका र समस्याको जड स्वयम् दलित हुन् भन्ने गरेका पाइन्छन्।

नदेखिने खालको विभेद

ममाथि भएका जातीय विभेदका प्रसङ्ग यहाँ प्रस्तुत गर्दैगर्दा म फ्रेन्च निबन्धकार अल्बर्ट मेम्मीको महत्त्वपूर्ण भनाइ सम्झन्छु। उनी भन्छन्: त्यहाँ एक अजीव प्रकारको रहस्य रङको समस्यासँग जोडिएको छ। कसैले अथवा सबैले आफूलाई रङका आधारमा विभेदकारी देखाउन चाहँदैनन्त र अझै पनि रङविभेद छ; यो सत्य र कठोर छ। -अल्बर्ट मेम्मी यदि माथिका घटनाका विभेदकारी पात्रलाई सोधियो भने मेम्मीले भनेझैँ उनीहरूले नेपालमा जातभात अहिले नरहेको हाे । झा सरले मसँगै खानुसुत्नुले बाहिरबाट हेर्दा जातीय विभेद नभएको जस्तो देखिन्छ।

घरमा पर्याप्त ठाउँ नभएर गोठमा सुत्नु स्वाभाविक लाग्छ। त्रि.वि.का प्राध्यापकले त विभेद गरेका छँदै छैनन् । यो त उनकी आमाको रूढिवादी परम्पराका कारणले हो पनि भन्लान्। समकालीन समयमा जातभात बुझ्न यस्तै भाष्यसँग जोडिएको रहस्य बुझ्नु जरुरी छ। यथार्थमा माथि उल्लिखित प्रसङ्गहरूमा आएका पात्रहरूले मलाई ‘नदेखिने खालको विभेद’ (अङ्ग्रेजीमा–सब्टल फर्म्स अफ डिस्क्रिमिनेसन) गरेका छन्। म यसलाई ‘कास्ट ब्लाइन्ड कास्टिजम’ भन्छु। यी विभेद झट्ट हेर्दा विभेदजस्ता देखिँदैनन्; हेर्दा नरम देखिन्छन्।

यिनले छुवाछुतका लागि ‘जातीय औजार’ यसरी प्रयोग गर्दछन्, जहाँ जातको गन्ध पाउन मुस्किल पर्छ। विभेद भोग्नेले मात्र अनुभव गर्न सक्छ। यसैकारण शिक्षित गैर दलितलाई यो खालको विभेद संस्थागत गर्न सजिलो छ। समकालीन जातीय विभेद यही ‘नदेखिने खालको विभेद’ का कारणले सहरमा व्यापक उत्पादन हुँदै छ। यस्तो विभेद गर्नेको सङ्ख्या सहरमा धेरै छ, जसले जबरजस्त शिक्षित वर्गको तक्मा भिरेर खुल्लेआम विभेद गरिरहेका छन्। काठमाडौंमा आफू दलित भएकै कारणले कोठा नपाएको समाचार आजभोलि सामान्य विषय बनेको छ।

यस्ता किसिमका अन्य घटनाका प्रकृति हेर्दा घरधनीले सुरुमा कोठा भाडामा दिन राजी हुने र पछि जात थाहा पाएपछि घर सल्लाह गरेर खबर गरौँला भन्दै भाडामा नदिने गरेको देखिन्छ । तिनै सहरका शिक्षित गैरदलितले आफ्नो व्यक्तिगत घर कसलाई भाडामा दिने कसलाई नदिने भन्ने घरधनीको अधिकारको कुरा हो भन्दै जातभातको कुरालाई नियोजित रूपमा लुकाउँछन्। कतिसम्म भने दलितले सहरमा कोठा नपाएको विषयलाई लिएर यिनैले ‘तिमीले कोठा पाएनौ, हामीले कोटा पाएनौँ’ भन्ने गरेको पाइन्छ। यो भाष्यमा नदेखिने खालको विभेद छ।

यिनैले जातीय भेदभाव तथा छुवाछुत अहिलेको समयमा नरहेको, छुवाछुत अहिले हटिसकेको, त्यस्ता घटना सुन्न छोडिएको आदि बताउने गर्दछन्। कुराकानीका क्रममा जातीय भेदभाव तथा छुवाछुत बढेको समकालीन तथ्य प्रस्तुत गरियो भने अघिसम्म प्रयोग गरिएका यिनका भाष्यमा विस्तारै परिवर्तन आउँछ र भन्ने गर्दछन्, ‘समाजमा अन्धविश्वास छ; दलितमा पनि छ र त छुवाछुत छ।’ ‘जातभात विस्तारै हट्ने कुरा हो; एकैचोटि हट्ने कुरा होइन’ भन्नेसम्मका भाष्य प्रयोग गर्दछन्।

जातभात अन्त्यका लागि किन यिनीहरू केही प्रयास गर्दैनन् ? कतिपयले त ‘मैले विभेद गरेको छैन, किन मेरो सिङ्गो समुदायलाई आरोप लगाउने ?’ समेत भन्ने गर्दछन्। यसो भन्दै गर्दा स्वतः आफ्नो समुदायले धर्मसंस्कृति परम्पराको नाममा दलितलाई गरेको अपमान चटक्क भुल्ने गर्दछन्। कतिसम्मका भाष्य प्रयोग गर्दछन् भने जातीय विभेद तथा छुवाछुत गैरदलितका कारणले होइन; स्वयम् दलितका कारणले भएको हो भन्ने गर्दछन्। ‘मिहिनेत नगर्ने अनि अरूको डाँह गर्ने ?’ भन्ने गर्दछन्।

भेदभाव तथा छुवाछुतलाई देखाउँदै राज्यबाट कोटा पाएका कारण दलितहरूले यो समस्या जस्ताको त्यस्तै राख्न चाहेका छन् भन्ने आरोप लगाइन्छ। समानुपातिक प्रतिनिधित्व पनि दलितले ‘कास्ट कार्ड’ खेलेर नै पाएका हुन् भन्दै न्यायका लागि हजारौँ वर्षदेखि गरिँदै आएको दलित आन्दोलनलाई बद्नाम गरिन्छ। जातीय शासन सत्ताको महरस चुस्दै आएका यिनले यस खालको भाष्य प्रयोग गर्नु दलितका लागि अस्वाभाविक होइन।

यस्ता तर्क आफैमा कति सत्य वा असत्य छन् भन्ने कुरा थप खोजको विषय होला। कुरा के हो भने यस्तो भाष्यले एकातर्फ जातीय विभेद तथा छुवाछुतको विषयलाई विषयान्तर गर्दछ। अर्कातर्फ यसरी गरिने नदेखिने खालको विभेदले नयाँ पुस्तालाई जातीय विभेद तथा छुवाछुत गर्न प्रोत्साहित गरिरहेको छ। यसकारण यो जातीय अपराध हो।

‘नदेखिने खालको विभेद’ को अन्तरनिहित मनसाय

सामान्यतः सर्वसाधारणका लागि शिक्षितले जातभात मान्दैनन्; विभेद गर्नेहरू दुर्गम क्षेत्रका अशिक्षित र गरिब हुन् भन्ने सोचाइ रहेको पाइन्छ। यो गलत सोचाइ हो। मेरो व्यक्तिगत अनुभवमा अहिले छुवाछुत गर्ने समुदाय मुख्यतः सहरका शिक्षित गैरदलित र त्यसमा पनि ब्राह्मण/क्षत्री नै हुन्। राज्यको महत्त्वपूर्ण अङ्गमा ब्राह्मण तथा क्षत्री समुदायको अत्यधिक प्रतिनिधित्व हुनु जातीय विशेषाधिकारकै कारणले हो।

खास भन्ने हो भने त्यो जातीय विशेषाधिकार यिनले सदियौंदेखि हिन्दु धर्म संस्कृतिको नाममा ‘कास्ट कार्ड’ खेलेर नै पाएका हुन्।जातीय विशेषाधिकारकै कारण राज्यका सबै निकायमा रजाइँ गर्न पाएकाले उनीहरूले यस्तो अधिकार गुमाउन चाहँदैनन् तर बुझ्नै पर्ने कुरा के छ भने समाजमा जातीय असमानताकै कारण कुनै न कुनै दिन उक्त विशेषाधिकार गुम्ने निश्चित छ। जातीय असमानता कायम गर्न जातभातको सिद्धान्त छोड्न नहुने कुरा यिनले राम्रोसँग बुझेका छन्। फेरि कुरा के पनि हो भने पुरानो तरिकाको जातभात अहिलेको युगमा लागु गर्नु भएन।

त्यो अति पारदर्शी छ। त्यसकारण माथि चर्चा गरिए जसरी नदेखिने खालको विभेद गर्दा समाजमा जातभात कायम रहन्छ। आफूले पाउँदै आएको जातीय विशेषाधिकार खतरामा पर्दैन र राज्यसत्तामा सधैँ उनीहरूको नै हालीमुहाली रहन्छ। अन्त्यमा प्रत्यक्ष रूपमा गरिने जातीय विभेद तथा छुवाछुतको घटनाका प्रमाण हुदाँसमेत प्रहरीमा मुद्दा दर्ता नहुनु दलित समुदायको तितो यथार्थ छँदै छ। नदेखिने खालको विभेदमा पर्याप्त प्रमाण नहुने हुँदा प्रहरीमा मुद्दा दर्ता मजाकको विषय बन्छ। काठमाडौँमा कोठा नपाएकी रूपा सुनारले सबै शक्ति प्रयोग गरेर मात्र प्रहरीले उनको मुद्दा दर्ता गरेको हो।

सबै दलित समुदायको न्यायमा पहुँच रूपा सुनारको जस्तो छैन। तसर्थ ‘नदेखिने खालको विभेद’ का अपराधीलाई कानुनी कारबाहीमा ल्याउन जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ समय अनुकूल बनाउँदै सम्बन्धित निकायलाई सचेत गराउनु अति आवश्यक देखिन्छ। सभार नागरिक दैनिक