सुभाष कुमार राम
रौतहट भ्वाईस, ३१ जेष्ठ । गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले सर्वसाधारणको गुनासो संकलन गर्नको लागि टोल फ्रि नम्बर सार्वजनिक गरेका छन्। गौर नगरपालिका भित्र जडान भएका पोलबत्तीबारे गुनासो सुन्नका लागि नगर प्रमुख साहले सर्वसाधारणका लागि टोल फ्रि नम्बर सार्वजनिक गरेका हुन्।

नगर कार्यपालिका कार्यालयको परिसरमा एक औपचारिक कार्यक्रम बीच नगर प्रमुख साहले सर्वसाधारणको पैसा नलाग्ने १६६०५५५२००२ नम्बर जारी गरेका छन्। कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत सुबास ठाकुरको पनि उपस्थिति रहेको थियो। नगरपालिकामा जडान गरिएका सार्वजनिक पोलबत्तीमा धेरै गुनासो आएको र सुनुवाई हुन छाडेकोले सर्वसाधारणलाई सेवा दिन नम्बर जारी भएको हो।

नगर प्रमुख साहले नगरपालिकालाई उज्यालो बनाउन र उज्यालोबाट वञ्चित हुन नपर्ने बनाउन पोलबत्तीलाई व्यवस्थित गर्ने उपाय निकालेका हुन्। नगरपालिकाले पोलबत्तीको ठेक्का लगाइसकेको र ठेकेदारले काम गरेन भन्ने गुनासो आएपछि नगरपालिका, ठेकेदार र सर्वसाधारण उपभोक्ता सबैलाई सहज हुने गरी नगरपालिकाको तर्फबाट टोल फ्रि नम्बर जारी गरिएको हो। टोल फ्रि नम्बरले असार ५ गते देखि काम गर्ने बताइएको हाे ।