रौतहट भ्वाइस, ०१ जेठ । सलमान खानका भाइ सोहेल खान र उनकी श्रीमती सीमा खान सम्बन्धविच्छेदको तयारीमा छन् । भारतीय सञ्चार माध्यम आजतकका अनुसार यी दुईले मुम्बईको फेमिली कोर्टमा सम्बन्धविच्छेदका लागि निवेदन दिएका छन् । सोहेल र सीमालाई शुक्रबार फेमिली कोर्ट बाहिर देखिएको थियो ।

यी दुई अदालतबाट छुट्टा छुट्टै निस्किएका थिए । ‘सोहेल खान र सीमा सचदेव शुक्रबार फेमिली कोर्टमा उपस्थित भएका थिए । यी दुईले सम्बन्ध विच्छेदको निवेदन दिएका छन् । यी दुई बीचको दोस्ती अहिलेसम्म पनि यथावत् छ । यी दुईले अचानक अलग हुने निर्णय गरेका थिए । यसबारे कसैलाई पनि भनिएको थिएन । यी दुइले आफ्नो यो निर्णयलाई नीजि राख्नु नै ठिक सम्झेका थिए र त्यसपछि मात्रै सम्बन्धविच्छेदको निर्णय दिएका थिए ।

उनीहरु पछिल्लो थुप्रै वर्षदेखि छुट्टा छुट्टै बस्दै आएका थिए ।’ यो जोडीलाई निकै नजिकबाट चिन्ने साथीले दिएको जानकारी अनुसार सीमा र सोहेलबीच कुनै विवाद छैन । यी दुईले यो निर्णयलाई मिलेर लिएका हुन् र आ–आफ्नो जीवनमा अघि बढ्ने निर्णय गरेका छन् ।

को हुन् सीमा खान ?

सीमा खानको वास्तविक नाम सीमा सचदेव हो । उनी व्यावसायिक रुपमा फेसन डिजाइनर र स्टाइलिस्ट हुन् । खबरका अनुसार सीमाले आफ्नो सैलुन पनि खोलेकी छिन् जसको नाम कालिस्ता हो । सुजैन खान र महिप कपुरसँग मिलेर मुम्बईको बान्द्रामा उनले १९० लग्जुरियस बुटिक खोलेकी थिइन् ।

वेब सिरिजमा भएको थियो खुलासाः— उनले सोहेल खानसँग सन् १९९८ मा विवाह गरेकी थिइन् । यी दुईका दुई छोरा छन् – योहान र निर्वाण । अब विवाहको २४ वर्षपछि यी दुई अलग भइरहेका छन् । सन् २०१७ मा पनि सोहेल र सीमा छुट्टिएको खबर आएको थियो । यतिमात्रै होइन सोहेल र सीमालाई नेटफ्लिक्स शो ‘द फेबुलस लाइभ्स अफ बलिउड वाइभ्स’ मा भिन्न भिन्न बसिरहेको देखिएको थियो ।

यो शो पछि उनीहरु दुईजना सँगै बसिरहेका छैनन् भन्ने पुष्टि भएको थियो । शोमा सोहेलसँग आफ्नो सम्बन्धको विषयमा सीमाले भनेकी थिइन् । ‘कहिलेकाँही तपाईंको उमेर बढेसँगै सम्बन्धले नयाँ दिशा लिन थाल्छ । म यसका लागि दुःखी छैन किनभने हामी खुसी छौँ र हाम्रा बच्चा खुसी छन् । सोहेल र मेरो विवाह कन्भेन्सल होइन तर हाम्रो परिवार एउटै छ । हाम्रा लागि हाम्रा बच्चा महत्वपूर्ण छन् ।’ यो सलमान खानको परिवारको दोस्रो सम्बन्धविच्छेद हो । यसअघि अरबाज खान र मलाइका अरोडा अलग्गिइसकेका छन् ।सभारःएजेन्सी